
काठमाडौं, ३० भदौं । नेपाल सरकारले भारतको सैन्य भर्ती योजना अग्निपथबारे निर्वाचनपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।
बिहीबार प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको जानकारी दिइन् । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजे पनि नेपालले यसबारे निर्णय गरेको छैन ।
अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको उनको भनाइ छ ।
बिहीबार मात्र भारतीय सेना अध्यक्ष मनोज पाण्डेले अग्निपथबारे नेपालले सयमै निर्णय नगरे तत्काल फिर्ता लिने बताएको समाचार आएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार सेनाध्यक्ष पाण्डेले बुधबार एक कार्यक्रममा बोल्दै नेपाललाई तत्काल अग्निपथ योजनाबारे निर्णय लिन दवाव दिँदै यस्तो चेतावनी दिएका हुन् ।
भारतीय पत्रिका ‘टाइम्स अफ इण्डिया’ले उल्लेख गरेअनुसार नेपालले समयमा अग्निपथबारे जवाफ नदिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा अन्त्य गर्ने पाण्डेले बताएका थिए ।
