रुसले ग्यास कटौती गरिदिएपछि युरोपभर चरम ऊर्जा संकट
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

पेरिस, २७ भदौ (एजेन्सी) । रुसले नर्डस्ट्रिम–१ पाइपलाइनमार्फत आपूर्ति हुँदै आएको ग्यास पूर्ण रूपमा कटौती गरिदिएपछि युरोपभर चरम ऊर्जा संकट र विभिन्न मुलुकमा लोडसेडिङ हुने देखिएको छ ।

रुसी इन्धन बन्द भएसँगै युरोपेली संघमा ग्यासका मूल्यहरू दस गुणाभन्दा बढीले वृद्धि भएको छ । युरोपका केही देशमा ऊर्जाको मूल्य यस वर्ष तीन सय प्रतिशतसम्म बढेको छ ।

जर्मनीमा बिजुलीको मूल्य प्रतिमेगावाट ९९५ युरो पुगेको छ भने फ्रान्समा ११ सय युरोभन्दा बढी पुगेको छ । यो गत वर्षको तुलनामा दस गुणा बढी हो ।

ऊर्जाको प्रयोग नघटाएमा जाडोयाममा बेल्जियम, जर्मनी, फ्रान्स, बेलायत, स्पेन, स्विट्जरल्यान्ड यूकेलगायत दर्जनौं मुलुकमा लोडसेडिङ हुने अधिकारीहरूले जनाएका छन् ।

युरोपेली टेलिभिजन टीएफ–१ ले आगामी जाडोयाममा युरोपमा प्रत्येक दिन केही घण्टा लोडसेडिङ हुने उल्लेख गरेको छ । युरोपेली आयोगका अनुसार हाल १२ देशहरू कम ग्यास प्रवाहका कारण पीडित रहेका र अन्य केही देशमा पूर्ण रूपमा अभाव उत्पन्न भइसकेको छ ।

ब्रसेल्सस्थित ब्रुगल थिंक ट्यांकका अनुसन्धान सहायक जियोभन्नी सगरबत्तीले भने, युरोपका सबै देशहरूका लागि जाडो एक कठिन समय हुन गइरहेको छ । सम्भवतः ऊर्जाको मूल्य अझ बढी जान सक्छ । युरोपले यो जाडोमा ऊर्जाको माग धान्ने देखिन्न ।’

ईयूका सदस्य देशमा ग्यास भण्डारण क्षमताको कम्तीमा ६० प्रतिशत हुनुपर्ने भए पनि पछिल्लो समय त्यो कायम छैन । पछिल्लो समय सबैभन्दा बढी ऊर्जा संकट जर्मनीमा छ । जर्मनी युरोपेली संघको सबैभन्दा बढी रुसी ग्यासमा निर्भर देश हो । ४० प्रतिशत रुसी इन्धनमा भर परेको यो देशमा जाडोयाममा निकै संकट हुने देखिएको छ ।

ऊर्जा संकट कम गर्न जर्मनीमा दर्जनौं नयाँ नियम जारी गरिएको छ । खुद्रा पसलले आफ्नो पसलका ढोका दिनभर खुला गर्नुपर्ने, राति १० बजेपछि सार्वजनिक भवन, स्मारक र विज्ञापन १० बजेपछि बन्द गरिनुपर्ने तथा कार्यालयहरूमा तापक्रम अधिकतम १९ डिग्रीमा सीमित राख्नुपर्नेलगायत छन् । जर्मनहरूले अहिलेदेखि नै कोइला भण्डारण गर्न हतारिएका छन् ।

फिनल्यान्ड सरकारले पनि जाडोयाममा इन्धन पर्याप्त नहुने जनाएको छ । फिनल्यान्डले नागरिकलाई नुहाउने समय कम गर्न तथा सौनामा कम समय बिताउन प्रोत्साहित गरिरहेको छ । फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नले जाडोयाममा ऊर्जा संकट हुने भन्दै खपत कम गर्ने उपाय खोज्न भन्दै कम्पनीहरूलाई आग्रह गरेकी छन् ।

व्यापक मूल्य वृद्धिपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले युरोपलाई ऊर्जा संकटले घेरेको र मूल्य कम गर्न आपत्कालीन हस्तक्षेप आवश्यक रहेको बताएकी छन् ।

स्विट्जरल्यान्डमा पनि ऊर्जा संकट गहिरिने देखिएको छ । स्विस सरकारले ऊर्जाको उपयोग कम्तीमा १५ प्रतिशतले घटाएर जाडोका लागि सञ्चय गर्ने घोषणा गरेको छ । त्यस्तै, बेलायतमा बिजुली र ग्यासको मूल्य अत्यधिक बढेपछि तिर्न नसक्ने भन्दै ‘इन्धनको बिल नतिरौं, बहिष्कार गरौं’ भन्ने अभियान सुरु भएको छ ।

प्रतिक्रिया