
काठमाडौं, २६ भदौ । क्रिकेटर सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् ।
१७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई अध्यागमन विभागले नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला र जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको तथा देशैभर पक्राउ गर्न पत्राचार गरिएको छ ।
गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए । लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन । उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ ।
भदौ ५ गते काठमाडौंको एक होटलमा पु¥याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो । पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ । क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि गुमाएका छन् ।
