
काठमाडौं, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खान–लाउन नपुग्ने विपन्न परिवारमा जन्मेको आफू दुईपटक प्रधानमन्त्री बन्न सफल भएको भन्दै उनले आश्चर्य र गौरव प्रकट गरेका छन् ।
आइतबार नेपाल युवा लगानीकर्ता सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नो परिवार खान नपुगेरै कास्कीबाट चितवनमा सरेको उनले सुनाए ।
उनले भने, ‘साँच्चै नै पहाडमा खान नपुगेर चितवन बसाइसराइ गरेर आएको परिवारको एउटा बच्चा । दुईचोटी त प्रधानमन्त्री भइसकेँ गणतन्त्र नेपालको । कसरी यो सम्भव भयो ? यसो हेर्यो भने आफैलाई सपना हो कि विपना जस्तो लाग्छ । तर हुँदो रहेछ ।’ उनले यसमा आफुलाई गौरवशाली ठानेको बताए ।
आफुले युद्धको कमाण्डर गरेको तथा युद्धलाई शान्तिमा रुपान्तरण गर्ने अवसर पनि पाएको बताउदै उनले भने, ‘संविधान निर्माण गर्ने अवसर पनि प्राप्त भयो, संविधान जारी पछि पनि दोस्रो पटक प्रम भएर संविधान कार्यान्वयनको ऐतिहासिक अवसर पनि प्राप्त भयो । यो सबै आफ्नो अठोटका कारण सम्भव भएको हो ।’
प्रचण्डले युवाहरुको अठोटबाट मात्रै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताए । उनले भने, ‘सपना बनाउनुस्, दृढता राख्नुस्, लागि पर्नुस्, सफलता चुम्न आउँछ ।’
उनले नेपाल र नेपालीका लागि कृषिमा आत्मनिर्भर हुने कुरा सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै ५०, ६० वर्षअघिसम्म कृषि सामग्री निर्यात गर्ने मुलुक अहिले आयात गर्नुपर्ने अवस्था आउनु ठुलो चिन्ताको विषय भएको बताए ।
