
काठमाडौं, २१ भदौं । चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार दिउँसो गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार सोमबार दिउँसो एक बजे सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण गम्भीर क्षति भएका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बीबीसीले जनाएअनुसार गत साता मात्र सिचुआनको राजधानी चेङ्दुका करिब २१ लाख मानिसलाई कोभिड नियमका कारण घरमै बस्न निर्देशन दिइएको थियो ।
भूकम्पको केन्द्रबिन्दु चेङ्दुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित दुर्गम पहाडी क्षेत्र लुडिङ सहर रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।
चीनियाँ सरकारी टेलिभिजन संस्था सीसीटीभीका अनुसार यान सहरमा १७ जनाको मृत्यु भएको छ भने अर्को छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ ।
‘भूकम्पमा परी अन्य १६ जना बेपत्ता र ५० जना घाइते भएका’ सीसीटीभीले जनाएको छ । भूकम्पका कारण चेङ्दु र छिमेकी मेगा–सिटी चोङ्किङमा भवनहरूमा असर पु¥याएको छ भने सडक अवरुद्ध भएको छ । दश हजारभन्दा बढी मानिसहरूको निवासमा सञ्चार प्रभावित भएको समाचारमा जनाइएको छ ।
त्यस्तै गार्जे र यान क्षेत्रका केही विद्युत् केन्द्रहरू पनि बन्द गरिएको सीसीटीभीले जनाएको छ । सरकारी सञ्चारमाध्यमहरूका अनुसार केन्द्रबिन्दु क्षेत्रमा पाँच सयभन्दा बढी उद्धारकर्मीहरू पठाइएको छ । त्यस्तै कामदारहरू भने पहिरोका कारण निम्तिएका अवरोधहरू हटाउन सक्रिय छन् ।
चेङ्दुबासीहरूका अनुसार त्यहाँका स्थानीयबासीले आफ्नो फोनमा भूकम्पपूर्व चेतावनी आएपछि आत्तिँदै अग्ला आवासीय भवनहरूबाट बाहिर निस्किएका थिए ।
भुईँ तल्लामा रहेका मेरा छिमेकीहरूले त्यसको प्रभाव अझै धेरै महसुस गरेको चेङ्दुका चेनले एएफपीसँग भनेका छन् ।
तर हाल चेङ्दुमा महामारी व्यवस्थापनको नियम लागु रहेकोले त्यहाँका मानिसहरूलाई आफ्नो आवासीय परिसर छोड्न अनुमति छैन । त्यसैले उनीहरूमध्ये धेरै त आफ्नो आँगनमा निस्किएका थिए ।
शुक्रबार मात्र कोभिड–१९ सङ्क्रमण दर रोक्ने प्रयास स्वरूप लकडाउन गर्ने चेङ्दु पछिल्लो चिनियाँ सहर हो ।
यसअघि जुन महिनामा सिचुआनमा ६.१ म्याग्निट्यूडको भूकम्प गएको थियो । सिचुआन भूकम्पको जोखिम रहेको क्षेत्र हो किनकि यो छिङहाई–तिब्बती पठारको पूर्वी सीमामा रहेको छ ।
पछिल्लो भूकम्पले सन् २००८ मा उत्तरपश्चिम सिचुआनको वेनचुआन काउन्टीमा गएको ८.० म्याग्निच्युडको भूकम्प सम्झायो जसमा परी ७०,००० मानिसको ज्यान गएको थियो र जसले व्यापक भौतिक विनाश गरेको थियो ।
-बीबीसीलगायत एजेन्सीको सहयोगमा
