
काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको बताएका छन् ।
आज आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले यस मुद्दाको फैसलामा आफूलाई गल्ती महसुस भएको बताएका हुन् ।
समितिमा जबराले भने, ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ । यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो । त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ ।’
उनले रञ्जन कोइरालाको मुद्दाको फैसलाको आधारमा महाभियोग लगाइएको भए आफूले गरेको त्यो गल्तीमाथि प्रायश्चित भएको र नागरिकसँग माफी माग्न तयार रहेको पनि बताए ।
डीआईजी कोइरालाले झन्डै नौ वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए ।
पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए ।
तर फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएकोमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले २० वर्ष नै कैद कायम गरिदिएको थियो ।
संसदको महाभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिनेक्रममा पाँच वटा प्रश्न सोधेका थिए।
