महानगरको अभियानमा मेरो साथ, सहयोग र समर्थन छ: उपमेयर डंगोल
अखबार टुडे
प्रकाशित:
२०७९, १२ भाद्र

काठमाडौं, १२ भदौं । काठमाडौं महानगरपालिकाले महानगरमा अनाधिकृत संरचना भत्काउने अभियान चलाइरहेको छ ।

महानगरका मेयर बालेन साहको उक्त अभिनयानलाई काठमाडौंबासीले सकरात्मकरुपमा लिएका छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने महानगरको अभियानलाई लिएर विरोध जनाइरहेको छ ।

यसैबेला महानगरकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छन् ।

एमालेको तर्फबाट उपमेयर बनेकी डंगोलले आइतबार बिहान सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै ‘महानगरको यो अभियानमा आफ्नो साथ, सहयोग र पूर्ण समर्थन’ रहेको बताएकी छन् ।

स्वतन्त्रबाट मेयर बनेका साहले अनाधिकृत संरचना भत्काउँने अभियान चलाइरहँदा गुमनाम बनेकी उपमेयर डंगोलले अपिलमा भनेकी छन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि उनले बताएकी छन् ।

केही दिनदेखि केही अनललाइन मिडियाहरुले महानगरपालिकाको पछिल्लो अभियानसँग आफूलाई जोडेर महानगरवासीमा भ्रम सिर्जना गरेको भन्दै उनले समाचार सम्प्रेषणप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकी छन् ।

उनले भनेकी छन्, पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौंथो अंगका रुपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन ।’

आफूलाई समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गरिएको भन्दै पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन समेत उनले अनुरोध गरेकी छन् ।

प्रतिक्रिया