काठमाडौं, ५ भदौ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभामा आफू अन्तिम पटक चुनाव लड्ने बताएका छन् ।
खनालले यसपालि इलामको क्षेत्र न. १ बाट सत्तारूढ गठबन्धनको उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका हुन् ।
आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने, ‘जनतासँगको माया–पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एक पटक लड्छु ।’
उनले आफूले इलाम– १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए ।
उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए । खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको पनि बताए ।
पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतम माओवादीको चुनाव चिन्ह हँसिया हतौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए ।