काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव पुनः स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसदबाट पुनः विचार हुन आवश्यक देखिएको भन्दै गत २९ साउनमा प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ ।