घाइते बाघले खायो तीन गोही
अखबार टुडे
प्रकाशित:
२०७९, ३० श्रावण

काठमाडौं, ३० साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ ।

बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो ।
दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले बताए ।

बिहानको समयमा बाघले गोही खाएको हो। गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भने, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।’

गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ । सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए ।

बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो । यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो ।

यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो। हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन् ।

प्रतिक्रिया