काठमाडौं, २७ साउन । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका शाही शुक्रबार बिहान एक कार्यक्रमबीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई काँग्रेस नेता बालकृष्ण खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता दिए ।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
पार्टी प्रवेशपछि अभिनेता शाहीले भने, ‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन । पहिलो पटक काँग्रेससँग आवद्ध भएको हुँ ।’ उनले काँग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आएको बताउँदै भने, ‘अरुभन्दा काँग्रेस नै ठीक लाग्यो ।’ उनले काँग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए ।
अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायतका चलचित्रमा अभिनय गरेका छन् ।