चीनमा जनावरबाट सर्ने नयाँ भाइरस फेला, दर्जनौं मानिस संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७९, २६ श्रावण

काठमाडौं, २६ साउन । चीनमा जनावरबाट सर्ने नयाँ भाइरस फेला परेको छ । चीनको हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो ।

३५ जना मानिस संक्रमित भइसकेका नोबल लाङ्ग्या हेनिपा भाइरसको वैज्ञानिकहरूले निगरानी गरिरहेका छन् । धेरै संक्र्रमितलाई ज्वरो, थकान र खोकीजस्ता लक्षण देखिएको बीबीसीले जनाएको छ ।

यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिएको छ । तर लाङ्ग्या भाइरस मानिसबाट मानिसमा सर्ने कुरा पुष्टि भने भइसकेको छैन ।

अनुसन्धानकर्ताहरूले यो भाइरस छुचुन्द्रो प्रजातिको एक जनावरमा रहने गरेको पत्ता लगाएका छन् । चीन, सिङ्गापुर र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा यसै महिना प्रकाशित गरेको लेखमा यो अन्वेषणबारे चर्चा गरिएको छ ।

अनुसन्धानकर्तामध्येका एक सिङ्गापुरको ड्युक–एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट आत्तिनुपर्ने अवस्था नभएको बताए पनि सजग रहनुपर्ने बताएका छन् ।

वैज्ञानिकहरूले परीक्षण गरेकामध्ये २७ प्रतिशत श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस पाइएको छ । यस्तै, पाँच प्रतिशत कुकुर र दुई प्रतिशत बाख्रामा पनि यो भाइरस पाइएको छ । परीक्षणबाट यो जनावर यस्तो भाइरसको “प्राकृतिक भण्डार“ रहेको देखिएको छ ।

प्रतिक्रिया