काठमाडौं, २५ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्राइमियाको स्वतन्त्रतापछि मात्रै रुस–युक्रेन युद्ध सकिने बताएका छन् ।
क्राइमियाको एक रुसी सैन्य अखडामा विस्फोटहरू भए लगत्तै जेलेन्स्कीको यस्तो भनाइ आएको हो ।
रात्रिकालीन भिडिओ सम्बोधनका जेलेन्स्कीले भने, ‘युद्ध क्राइमियाबाटै सुरु भयो र अब यसको स्वतन्त्रतासँगै अन्त्य हुनुपर्छ ।’
उनले युद्धको समाप्तिअघि क्राइमिया पनि युक्रेनले फिर्ता लिनुपर्नेमा जोड दिँदै थपे, ‘क्राइमिया युक्रेन हो। हामी यसलाई त्याग्न सक्दैनौँ ।’
क्राइमियाबारे केन्द्रित गरे पनि जेलेन्स्कीले विस्फोटबारे केही उल्लेख गरेनन् । स्थानीय एक टेलिभिजनसँग कुरा गर्दै युक्रेन राष्ट्रपतिका एक सल्लाहकारले विस्फोटमा किएभको संलग्नता नरहेको बताएका छन् ।
क्राइमियाको एक सैन्य अखडामा भएका विस्फोटहरूमा एक जनाको मृत्यु भएको उक्त क्षेत्रमा रुसले नियुक्त गरेका प्रशासन प्रमुखले बताएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीहरूले रोएटर्स समाचार संस्थालाई आफूहरूले कम्तीमा १२ वटा विस्फोटको आवाज सुनेको बताएका छन् । विस्फोट भएको क्षेत्रमा पाँच किलोमिटर आसपाससम्म प्रवेश निषेध गरिएको बीबीसीले उल्लेख गरेको छ ।
रुसको सरकारी समाचार संस्था रियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विस्फोटबाट गोलाबारुद भण्डारमा आगजनी नभएको उल्लेख गरेको छ ।
रुसले सन् २०१४ मा जनमत सङ्ग्रह मार्फत क्राइमिया आफ्नो देशमा गाभेको थियो । यसलाई अन्तर्राष्ट्रिय समुदायले अवैधानिक भनेको थियो। उक्त टापुका रणनीतिक स्थानहरूमा रुसी सेना परिचालन गरेपछि हतारमा जनमत सङ्ग्रह आह्वान गरिएको थियो ।