
काठमाडौं, २३ साउन । निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए ।
‘भोलि देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ । थप आन्दोलनका थप कार्यक्रम हामी भोलि नै तय गर्छौं ।’
उनले असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा हामीले आन्दोलन गरिरहेको बताए ।
सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए । असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् ।
उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने उनीहरुको माग छ ।
