काठमाडौं, २१ साउन । काठमाडौं महानगर दुर्घन्धित सहरमा परिणत हुँदैछ । झण्डै दुई महिनादेखि काठमाडौंका सडकमा फोहोर थुप्रँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।
बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले फोहोर व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहोरका डंगुर देखिन थालेको छ ।
विशेषगरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहोरको थुप्रो हुँदा समस्या आएको छ ।
यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ ।
यही साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । तर, एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ ।
त्यस्तै, बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूति जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।
कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।
यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो ।