
काठमाडौं, २० साउन । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि बहुमतको सरकार बनाउन सकिने बताएका छन् ।
आफ्नो चाहना दुई तिहाईको बहुमत भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमा बोल्दै उनले भने, ‘मेरो चाहना दुई तिहाइ बहुमत हो । तर, दु्ई तिहाइ नसकेपनि केन्द्रमा एकल बहुमतको सरकार बनाउनुप¥यो । प्रदेशमा बहुमतको सरकार बनाउनुप¥यो ।’ ओलीले उपयुक्त सरकार बनाउने चुनौती हाम्रो सामू रहेको बताए ।
अध्यक्ष ओलीले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको बताए । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, उनले भने, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’ ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख, आफ्नो टेबलमा भएको महाअभियोगको प्रस्तावको छिनोफानो गर्नु पर्दै ?, मान्छेलाई डामेर छाड्ने , अभियोग लगाएर छाड्ने ? तर त्यो अभियोगका बारेमा नबोल्ने ।’
