काठमाडौं, २१ साउन । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मिलेर अघि बढ्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले चुनावमा तालेमल गर्ने निर्णय गरेको हो । सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत गठन भएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन रहेको बताइएको छ ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट पाउने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर आजको बैठकमा कुनैपनि दलले सिट दावी नगरेको बताइएको छ ।
यसअघि काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने बताउदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दावी गर्दै आएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २० र जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउदै आएका छन् ।