नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०७९, १९ श्रावण

काठमाडौं, १९ साउन । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी र्पुयाएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको र अध्यक्ष आफैंले लाभ लिएको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

यी सबै विषयमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै छानबिन गर्न बनेको समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । सोही प्रस्ताव अनुसार आजको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया