काठमाडौं, १७ साउन (एजेन्सी) । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको अपेक्षित ताइवान भ्रमणले अमेरिका र चीनबीच तनाव चुलिएको छ ।
सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले उनी आज राति ताइपेई पुग्ने समाचार सार्वजनिक गरेका छन् ।
सभामुख पेलोसी ताइपेइ पुगेमा २५ वर्षभन्दा बढी समयपछि त्यहाँको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुन् । अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ताइवानका तीन ठूला राष्ट्रिय समाचारपत्र युनाइटेड डेली न्यूज, लिबर्टी टाइम्स र चाइना टाइम्सले उनी मलेसियाको भ्रमणपछि ताइपेई पुग्ने र रात त्यही बिताउने कार्यक्रम रहेको खबर प्रकाशन गरेका छन् ।
चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ । बेइजिङले सभामुख पेलोसी ताइवान भ्रमणमा निस्किएमा आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको छ । चीनको बदलाको धम्कीले ताइवानमा नयाँ सङ्कट निम्त्याउने छ जसले जसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्नेछ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले बेइजिङको उक्त प्रतिक्रियाको निन्दा गर्दै चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संल्गन हुन नचाहेको स्पष्ट गरेको छ ।
राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयम् सभामुख पेलोसीको भएको बताएका छन् । उनले अमेरिकी सांसदले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गरेको स्मरण पनि गराएका छन् ।
सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने चिन्ताले अमेरिकी प्रशासनका अधिकारीहरू चिन्तित भएका बताएका छन् ।
लामो समयदेखि अभ्यासमा रहेको तथा अमेरिकी नीतिअनुरूप सभामुखको सम्भावित भ्रमणलाई बहाना बनाएर बेइजिङले कुनै प्रकारको सङ्कट खडा गर्ने वा ताइवान वा त्यसको वरपर आक्रामक सैन्य गतिविधि नबढाउने रूपमा विश्वास उनले व्यक्त गरेका छन् ।