
काठमाडौं, १७ साउन । एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार फिफा विश्वकप २०२६ र एसियन कप २०२७ का लागि छनोटको नयाँ रोडम्याप सार्वजनिक गरेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ । जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् ।
एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नुपर्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ । यसअघि एसियालाई विश्वकपमा चार स्थान तय थियो ।
एएफसीको नयाँ रोडम्याप अनुसार सन् २०२६ को फिफा विश्वकपका लागि नेपालले एसियाली छनोटमा भने पहिलो चरणबाटै खेल्नुपर्ने भएको छ ।
विश्वकपमा छनोट हुन पुछारका टोलीले कम्तिमा चार चरणको छनोट पार गर्नुपर्नेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्नेछन् । यो छनोट चरणमा नेपाल रहनेछ ।
पछिल्लो वरीयतामा नेपाल एसियाको वरीयताको ३६औं स्थानमा रहेको छ । नेपालले कतार विश्वकप २०२२ का लागि दोस्रो चरणबाट छनोट खेलेको थियो । प्लेअफ चरण नेपालले उच्च वरीयता रहेका कारण खेल्नुपरेको थिएन ।
यसपटक पहिलो चरणको प्लेअफ होम एण्ड अवेको आधारमा हुनेछ । पहिलो चरणबाट ११ विजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणमा १ देखि २५औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका ११ टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ । ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ ।
दोस्रो चरणको ९ समूह मध्यबाट हरेक समूहका शीर्ष दुई टोलीले एसियन कप २०२७ मा प्रतिस्पर्धा गर्नेछन् । यिनै १८ टोलीले फिफा विश्वकपको लागि तेस्रो चरणको छनोट पनि खेल्नेछन् । तेस्रो चरणको छनोटमा ६ टोलीको ३ समूह हुन्छ र हरेक समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा पुग्नेछन् ।
समूहका तेस्रो र चौथो हुने ६ टोलीले अर्को चरण छनोट खेल्नेछन् । ३ टोलीको दुई समूहबाट शीर्ष स्थानमा आउने टोली विश्वकपमा पुग्नेछ । समूहको दोस्रो हुने दुई टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न एक आपसमा भिड्नेछन् ।
