कोरोनाभाइरस नियन्त्रणमा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च : प्रतिवेदन
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार । सरकारले कोरोनाभाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

महालेखा परीक्षकको ५९औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च भएको जनाएको हो । उक्त रकम संघीय सरकारदेखि स्थानीय तहबाट भएको खर्चको एकमुष्ट हिसाब हो ।

निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ । स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्तालगायतमा सो रकम खर्च भएको जनाइएको छ ।

यस्तै, कोरोनाकालमा सरकारले ३ अर्ब रुपैयाँ बराबरको आयकर छुट दिएको पाइएको छ । यस्तो छुट कुल ५ लाख १२ हजार जना करदाताले लिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मात्र २ अर्ब ८९ करोड २९ लाख रुपैयाँ बराबरको आयकरमा छुट पाएको प्रतिवेदनमा उल्लेख छ । सरकारले सो वर्ष वार्षिक २ लाखसम्म आय हुनेलाई ९० प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र वार्षिक १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट दिएको थियो ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ४० अर्ब ८१ करोड ८२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण आयातमा राजस्व छुट दिइएको छ । तर, यसरी दिइएको भन्सार छुटबाट उपभोक्ताले लाभ पाए वा पाएनन् भन्ने अध्ययन नभएको महालेखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया