डोटी, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतदानबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।
आइतबार सार्वजनिक मतपरिणामअनुसार एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भए ।
यस्तै उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारीले ४७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३७५५ मत पाएकी छन् । बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो ।