चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितको टोली काठमाडौंमा
अखबार टुडे
प्रकाशित:
२०७९, २६ असार

काठमाडौं, २६ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलि नेपाल आइपुगेका छन् ।

गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउले आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् ।

भेटमा नेपाल–चीन सम्बन्धका साथै दुई पक्षीय हितका विषयमा छलफल हुने चिनियाँ दूतावासले जनाएको छ । जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

पहिलो विदेश भ्रमणको लागि जियानचाओले नेपाल रोज्नुलाई अर्थपूर्ण मानिएको छ । आगामी संघीय निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु पनि उनको भ्रमणको उद्देश्य रहेको बुझिएको छ ।

प्रतिक्रिया