काठमाडौं उपत्यकामा हैजा : हालसम्म १९ जनामा संक्रमण पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा पानीबाट हैजा फैलिरहेको पाइएको छ । हालसम्म काठमाडौंका विभिन्न स्थानमा गरि १९ जनामा हैजा संक्रमित पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो । हालसम्म १४ जना पुरुष र ५ जना महिलामा हैजा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई–दुई जना हैजाका बिरामी भेटिएका छन् ।
त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक–एक जनामा हैजा संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार सोमबार दिउँसोसम्म एक जनामात्रै उपचाररत छन् । उनका अनुसार हैजा संक्रमण पुष्टि भएका एक जनाबाहेक अरु सबै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।

पाटन अस्पतालका मेडिकल विभागका प्रमुख तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्मा काठमाडौं उपत्यकाको पानीका स्रोतहरुमा हैजाका जीवाणु रहेको अनलाइन खबरसँग बताएका छन् ।

उनले भनेका छन्, ‘ललितपुरमा १८ ठाउँमा पानीको नमुना परीक्षण गर्दा १२ वटामा कोलिफर्म देखियो । कोलिफर्म देखिनुको मतलब पानीमा दिसामा हुने जिवाणु मिसिरहेको छ भन्ने हो ।’

हाल पाटन अस्पतालमा मात्रै झाडावान्ताका दैनिक २५ भन्दा बढी बिरामी आइरहेका छन् । डा. शर्माका अनुसार काठमाडौंमा लामो समयसम्म नउठाइएको फोहोरका कारण हैजा फैलाउने जीवाणु पानीमा मिसिन पुगेका हुन् । घरमा प्रयोग गरिने फिल्टर, क्लोरिन केहीमा मात्रामा पानी शुद्धीकरण हुन्छ । तर, पानी उमालेर सेवन गर्नु सबैभन्दा उत्तम उपाय भएको डा. शर्माको भनाइ छ ।

प्रतिक्रिया