
काठमाडौं, १९ असार । काठमाडौं महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यमाथि कारबाही गर्न नेपाल प्रहरीमा आइतबार निवेदन दिएको छ ।
फुटपाथ अतिक्रमण गरेको भन्दै नगरप्रहरीले कारबाही गर्दा प्रतिवाद गरेका आचार्य दम्पतीलाई थप कारबाही गर्न महानगरी प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाले जनाएको छ ।
मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरपालिकाको आलोचना भएको छ ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीले प्रहरीमाथि दुव्र्यवहार गरेको र सञ्चारमाध्यममा दिएका अभिव्यक्तिलाई लिएर प्रहरीलाई कारबाहीका लागि अनुरोध गरिएको बताएका छन् ।
उनले प्रहरीलाई अगुल्टोले हानेको, चिम्टाले घोचेको भन्दै भने, ‘एउटा राष्ट्र सेवकले यस्तो अवस्थामा सडकमा गएर कसरी काम गर्नसक्छ ?’
चेतेन्द्र र सीता दम्पतीले भने नगर प्रहरीले घुस मागेको आरोप लगाएका छन् । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले समेत स्वीकारेका थिए ।
फुटपाथमा पसल गर्नेहरुमाथि दैनिक कारबाही गरिरहेको सापकोटाको भनाइ छ । नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपैयाँ घुस मागेको भनेर लगाएको आरोपबारे भने महानगरपालिकाले खाश केही बताएको छैन । अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी आफैं रहेकाले सोधपुछपछि स्पष्टिकरण लिएर अनुसन्धानपछि महानगरले आवश्यक परेमात्रै कारबाही गनेृ उनले बताएका छन् ।
