
धनगढी, १९ असार । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउने र अर्का एक जनालाई पक्राउ गरेको छ ।
चलाउनेलाई काठमाडौंमा पक्राउ गरेर अछाम ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यो सँगै शाही मृत्युको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
शाहीको मृत्यु घटनामा संलग्न रहेको उजुरी परेपछि मेयर चलाउने सहितलाई नियन्त्रणमा लिएको हो । शाहीको हत्या भएको भन्दै नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।
गत वैशाख ३० को स्थानीय निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।
