
काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्काशन गर्ने ५ जनालाई उल्टै निकालिदिएका छन् ।
हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गरेका हुन् ।
यसअघि शनिबार मात्र युवराज सफललगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट हटाएका भनी विज्ञप्ती निकालेका थिए ।
गौतमले पनि शनिबारको बैठकबाट उनीहरुलाई जवाफी कारबाही गरेको बताए । उक्त बैठकले युवराज सफललाई कुनै पनि हालतमा पार्टीमा नफर्काउने निर्णय गरेको छ भने अन्य ४ जनालाई भने आत्मालोचना गरेर माफी मागेमा पुनः पार्टीमा फर्कन सक्ने विकल्पसहित निष्काशन गरिएको छ ।
पार्टीमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीको भेलाले गौतमलाई पार्टीबाट निष्काशित गरेको थियो । गौतमले सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, अराजनीतिक व्यवहार देखाएको जस्ता आरोप लगाउँदै उनीहरुले कारबाही गरेका हुन् । वामदेव गौतमले यही असार १४ गते नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्नुभएको थियो ।
