
काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्न उठाएको छ । देउवा नेतृत्वको गठबन्धन सरकारले जनपक्षीय काम गर्न नसकेको शेखर समूहको आरोप छ ।
शुक्रबार काठमाडौंको बत्तिसपुतलीमा बसेको कोइराला समूहको बैठकले देउवामाथि पाँच वटा प्रश्न उठाएको छ । देउवाले नेतृत्व गरेको गठबन्धन सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न नसकेको यो समूहले निष्कर्ष निकालेको छ ।
कांग्रेसले राजनीतिक प्रतिबद्धता जनाएको कुरा पनि कार्यान्वयन नगरेको बैठकपछि कोइराला पक्षीय केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । उनका अनुसार राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभागलगायतका विभाग प्रधानमन्त्रीको मातहतबाट हटाउने कांग्रेसले संस्थागत निर्णय गरेको छ ।
अहिले उक्त निकाय प्रधानमन्त्री कार्यालय मातहत राखिनु पार्टीको प्रतिबद्धता विपरीत भएको शेखर समूहको ठहर छ ।
परराष्ट्र नीतिमा सरकार सफल असफल भएको भन्दै सरकारलाई कोइराला समूहले ध्यानाकर्षण गराएको छ । यस्तै, सभापति देउवा पार्टीको भन्दापनि गठबन्धनको सभापति भएर हिँडेको उक्त समूहको आरोप छ ।
देउवामाथि पाँच आरोप
१. सरकार नजिविकाका मुद्धामा गम्भिर बन्न नसकेको, विकास खर्च, लगानीको माहोल, अर्थतन्त्रका सुचकहरु, मल, पुस्तकका कुरामा सरकार उदासिन
२. राजनीतिक प्रतिवद्दताः राजश्व अनुसंन्धान, सम्पति सुद्दिकरण, रा.अ.वि प्रधानमन्त्रिको मातहतवाट हटाउने पार्टीको निर्णयलाई कार्यान्वयन नगरेको
३. चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाएको र ब्यापकरुपमा नीतिगत भ्रष्टाचार भएको ।
४. परराष्ट्र नीति सबैको साझा वनाउने पहल नगरेको ।
५. सभापतिज्युले विधान अनुसार नचल्ने र ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जस्ले भोट दिएनन् उनिहरुको सभापति हुन नखोजेको देखियो ।
