देख्नुभएको छ ‘फ्लाइङ होटल’ अर्थात उडिरहने होटल ? (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । आकाशमा हवाइजहाज उडेको त देखकै छौँ । चढिरहेका पनि छौँ । तर, ‘उडान होटल’ अहिलेसम्म तपाइँले कतै देख्नु भएको छ ?

तर, अब त्यो समय धेरै टाढा छैन, जब हामीले ‘उडान होटल’ पनि देख्न पाउनेछौँ । जसको झलक एउटा भिडियोमा सर्वाजनिक भएको छ । वास्तवमा, हसम अल–घाइली नामको युट्युब च्यानलले उडान होटलको कन्सेप्ट भिडियो सार्वजनिक गरेर मानिसलाई चकित बनाएका छन् ।

भिडियोका अनुसार त्यो समय पनि आउनेछ जब मानिसले न्यूक्लियर पावर्ड स्काई होटलमा रमाइलो गर्न सक्नेछन् । कन्सेप्ट भिडियोका अनुसार फ्लाइङ होटल एक प्रकारको हवाइजहाज हुनेछ । जुन कहिल्यै जमिनमा अवतरण हुनेछैन । यसमा ५ हजार यात्रुको सिटको व्यवस्था हुनेछ ।

फ्लाइङ होटल सबै प्रकारका विलासी सुविधाले सुसज्जित हुनेछ । भिडियोमा यो उचाइमा रहेको होटलमा रेस्टुरेन्ट, विशाल सपिङ मलका साथै जिम, थिएटर र स्विमिङ पुल पनि हुनेछ भन्ने देखाइएको छ ।

भिडियोमा भनिएको छ कि, यो फ्लाइङ होटल आर्टिफिसियल इन्टेलिजेन्सले चल्ने स्काई क्रुज हुनेछ, जसमा २० इन्जिन हुनेछन् । सबै इन्जिनहरू आणविक फ्युजनको सहायताले सञ्चालन हुनेछन् । साझा एयरलाइन्स कम्पनीका जहाजले यात्रुलाई यो फ्लाइङ होटलमा ल्याई हावामै भित्र्याउने छन् । यो विमानको मर्मतसम्भारको काम पनि हावामै हुनेछ । यो होटल अमेरिकामा परिकल्पना गरिँदै गरेको बताइएको छ ।

युटुबरले आणविक शक्तिद्वारा संचालित यो स्काई क्रुज भविष्य हुन सक्ने दाबी गरेको छ । ‘डेली स्टार’को रिपोर्टका अनुसार यो प्रोजेक्ट निकै ठूलो र अनौठो भए पनि कतिपयले यसको आलोचना पनि गरिरहेका छन् । ‘उडान होटल’ आणविक शक्तिमा चल्ने भएकाले कहिले दुर्घटना भयो भने विनाश हुनसक्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया