‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र दिएको हो ।

यस्तै प्रस्ताव गरेको घण्टी चुनाव चिन्हमा भने आयोगले संशोधन गरेको छ । घण्टी चुनाव चिन्ह अर्कै दलको भएपछि आयोगले पार्टीलाई गोलाकारभित्रको घण्टी चिन्ह दिएको छ ।

सो क्रममा आयोग परिषरमा उनले भने, ‘राजनीतिक दल दर्ता भएको छ । अब जनताको बीचमा जानुपर्ने हुन्छ । हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना कुरा भन्दै जान्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको छ । समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने लामिछानेले जानकारी दिए ।

आयोगले पार्टीको नामका विरुद्धमा परेका २ उजुरी खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए ।

प्रतिक्रिया