यसपालि बाढी-पहिरोका कारण २० लाख मानिस प्रभावित हुने, यी हुन् उच्च जोखिममा रहेका जिल्ला !
अखबार टुडे
प्रकाशित:
२०७९, १४ असार

काठमाडौं, १४ असार । यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनका बेला आउन सक्ने बाढी पहिरो र विभिन्न खाले विपद्ले पाँच लाखभन्दा बढी मानिसलाई उद्धार वा राहतको आवश्यकता पर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मनसुनका कारण २० लाख जनसङ्ख्या र १ लाख घरहरू प्रभावित हुन सक्ने देखिएको प्राधिकरणले अनुमान गरेको छ । यस्तै २२ जिल्ला पहिरोको उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ ।

ती जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।
त्यस्तै २३ वटा जिल्ला बाढीको उच्च जोखिममा छन् । जसमा तराइ क्षेत्रका धेरै स्थान डुबानमा पर्न सक्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको प्रतिवेदनमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर यसपालि बाढीको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

प्रदेश नं १ बाट आगमन भएको मनसुन हाल सुदूर पश्चिम प्रदेशमा प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले गर्दा मङ्गलवारदेखि बिहीवारसम्म देशभर सामान्यदेखि पूर्णतया बदली रही मङ्गलवार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷झरी पर्ने र प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै बिहीवार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/झरी र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया