राजीनामा माग्दैमा दिन्न : अर्थमन्त्री शर्मा
अखबार टुडे
प्रकाशित:
२०७९, १३ असार

काठमाडौं, १३ असार । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् ।

बजेटमाथिको राष्ट्रियसभामा उठेका प्रशनहरुको जवाफ दिंदै अर्थमन्त्री शर्माले भने, ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु । बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी छ ।

अर्थमन्त्री शर्माले भने ‘करका दर बढाउँदा देश र जनतालाई हित ग¥यो कि गरेन, उद्योगलाई कस्तो असर प¥यो भन्ने मुख्य हो । अहिलेजसरी बढाउनै पाइँदैन भन्ने होइन । करको दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न ।’

बजेटको लक्ष्य र प्राथमिकता पूरा हुने भन्दै उनले बजेटले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकार गरेको पनि बताए । बजेट जनता र देशको पक्षमा ल्याएका कारण आफ्नो खेदो खनिएको पनि अर्थ मन्त्रीले दाबी गरे ।

प्रतिक्रिया