
काठमाडौं, ५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् ।
पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै उनले विभाजनलाई निषेध गर्दै पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने दावी गरेका हुन् ।
आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै अध्यक्ष प्रचण्डले परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए ।
संघीयता उल्ट्याएर कमजरोर बनाउने प्रयास भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौँ ।’
उनले अहिलेको परिवर्तनमा कर्मचारीको उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘कर्मचारीहरुलाई पनि संगठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार छ । परिवर्तन विरोधीहरू कर्मचारी संगठित भएको देख्न चाहँदैनन्, तर कर्मचारी संगठन र पार्टीबीच जीवन्त सम्बन्ध आजको महत्वपूर्ण आवश्यकता हो ।’
