रहेनन् भुटानी शरणार्थी नेता डा. भम्पा राई
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार

काठमाडौं, ५ असार । भुटानी शरणार्थीका नेता डाक्टर भम्पा राईको निधन भएको छ । ७५ वर्षका राईको निधन विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा भएको हो ।

झापामा बस्दै आएका राईको पाँच दिन अघि दमकमै हर्नियाको शल्यक्रिया गरिएको थियो । शनिबार अपरान्ह करिब ३ बजेतिर मुटुको चाल कम भएपछि उनलाई उपचारका लागि विराटनगर ल्याइएको थियो ।

उपचारका क्रममा राईको आइतबार बिहान निधन भएको उनकी भान्जी गौरी राईले जानकारी दिइन् । राई ३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए ।

उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए । किराँत संस्कारअनुसार राईको आज दमक नजिकै पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अन्त्येष्टि गर्ने तयारी छ ।

उनी सन् १९९२ मा भुटानबाट लखेटिएपछि नेपाल आएर दमकमा बस्न थालेका थिए । शरणार्थीको निःशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए । भूटानी राजाका डाक्टर राईले शरणार्थीको तेस्रो देश पुनरबासको कार्यक्रम अस्वीकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रुपमा अघि बढाउने बताउँदै आएका थिए ।

प्रतिक्रिया