प्रधानसेनापति शर्माले भने- सैन्य गठबन्धन हुँदैन भनेर भनिसकेको छु, थप आशंका नगरौँ
अखबार टुडे
प्रकाशित:
२०७९, ३ असार

काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा उनले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको समेत बताए ।

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको बताए ।

‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो’ प्रधानसेनापति शर्माले भने, ‘तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’

उनले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको जानकारी दिए । सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध गर्दै उनले भने, ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनेको छु । थप आशंका नगरौँ यसलाई यहीँ नै निराकरण गरौँ ।’

प्रतिक्रिया