काठमाडौं, १ असार । देशको अर्थतन्त्रलाई जोगाउन भन्दै पाकिस्तानमा जनतालाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको छ ।
विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहँदा आयातमा कटौती गर्न र विदेशी मुद्रा बचत गर्न पाकिस्तान सरकारले जनतालाई चिया पिउने मात्रा घटाउन आग्रह गरेको हो ।
वरिष्ठ मन्त्री एहसान इकबालले प्रतिदिन पिउने चियाको मात्रा घटाउदा आयातमा खर्च हुने उच्च रकममा कमी आउने बताए । मन्त्री इकबालले भने, ‘म एकदेखि दुई कप चिया कम पिउन देशवासीलाई आग्रह गर्छु । किनकि हामीले ऋणको पैसाले चिया आयात गरिरहेका छौँ ।’ साथै विद्युत् बचतका लागि राति साढे ८ बजे पछि पसलहरू बन्द गर्ने पनि उनले बताए ।
पाकिस्तान विश्वकै सबैभन्दा ठूलो चिया आयातकर्ता हो । गत वर्ष मात्र उसले ६० करोड डलरभन्दा बढीको चिया आयात गरेको छ । कम चिया पिउन मन्त्रीले गरेको आग्रह सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ ।
पाकिस्तानमा विदेशी मुद्रा सञ्चिति घटेको छ । फेब्रुअरीमा १६ अर्ब डलर रहेको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति घटेर जुन महिनाको पहिला सातासम्म १० अर्ब डलर पुगेको छ । यति रकमले दुई महिनाभन्दा कम समयका लागि वस्तु आयात गर्न सकिने अवस्थामा पुगेको छ भने तत्काल आर्थिक सहायताको आवश्यकता देखिएको छ ।
विदेशी मुद्रा सञ्चिति जोगाइराख्ने प्रयासमा गत महिना कराचीमा अधिकारीहरूले विलासिताका दर्जनौँ सामानको आयातमा प्रतिबन्ध लगाएका थिए । यो आर्थिक सङ्कट शहबाज शरिफ नेतृत्वको सरकारका लागि एउटा ठूलो परीक्षा हो । – बीबीसीबाट