काठमाडौं, १ असार । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा नेपालले तीन वर्ष यताकै खराब प्रदर्शन गरेको छ । समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ ।
बुधबार विहान कुवेत सिटीमा सकिएको खेलमा इन्डोनेसियाले नेपाललाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल थपेको थियो ।
इन्डोनेसियाका लागि मोहमद मिसजले छैटौं र विटन सुलेमानले ४३ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा नेपालमाथि पुरै दबाब राखेको इन्डोनेसियाका लागि अर्यन्तोले ५४ मिनेटमा तेस्रो गोल र सदिल रामदानीले ५५ मिनेटमा चौथो गोल गरे ।
८० मिनेटमा इल्कन बग्गोटले पाँचौ गोल गर्दा ८१ मिनेटमा सुलेमानले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे। ९० मिनेटमा फर्डिनालले इन्डोनेसियाका लागि सातौं गोल गरे ।
इन्डोनेसियासँगको हार नेपालको तीन वर्ष यताकै खराब प्रदर्शन भने एसियन कपको तेस्रो चरणको छनोटमा सहभागी २४ टिममध्ये नेपालले सबैभन्दा कमजोर प्रदर्शन गरेको छ । समूहमा तीनै खेल हारेको नेपालले तीन खेलमा १३ गोल खदा १ गोल मात्र गर्न सक्यो ।
यस्तै तेस्रो चरणको छनोटमा नेपालपछि खराब प्रदर्शन गर्ने टिम म्यानमार बन्यो। समूह ‘एफ’ मा उसले तीनै खेलमा हार बेहोर्दा १२ गोल खायो भने २ गोल गर्न सक्यो ।
नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोलले पराजित भएको थियो । यता नेपाललाई पराजित गरेसँगै इन्डोनेसिया ६ अंक जोडेर एसियन कपमा छनोट भएको छ । लगातार तीन जित निकालेको जोर्डनले पनि एसियन कपमा स्थान बनाउँदा नेपाललाई मात्र हराएको कुवेत भने तेस्रो स्थानमै सीमित बन्यो ।