
काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।
सोमबार बर्दियामा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामी कोहि पनि कन्फ्युजनमा नहोऔं । दुई चरणमा गर्नेकी एक चरणमा गर्ने भन्ने छलफल हुन बाँकी छ । तर मंसिरमा नै हुन्छ ।’
प्रधानमन्त्रीलगायत गठबन्धनमा छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना रहेको उनको भनाई छ ।
प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गर्नेबारे छलफल भइरहेको पनि उनले बताए । प्रचण्डले भने, ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल भइरहेको छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सम्भव भयो । त्योभन्दा त प्रदेश र संघको सहज हुन्छ ।’
प्रचण्डले संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वानसमेत गरे । उनले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन नेतृत्व लागेकाले सबैलाई यसतर्फ राख्न आग्रह गरे ।
