
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको बताएका छन् ।
प्रमुख प्रतिपक्षीलगायतका दलहरूले छिमेकी चीनसँगको सम्बन्धको सन्तुलन गुमाएको भन्ने आलोचना गरेपछि प्रधानमन्त्री देउवाले यस्तो स्पष्ट पारेका हुन् ।
तिब्बती शरणार्थी मामिला हेर्ने अमेरिकी अमेरिकी उपमन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेको विषयमा समेत प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाउँदै सरकारप्रति संसद्मै आलोचना गरेको थियो । त्यही सन्दर्भलाई संकेत गर्दै प्रधानमन्त्री देउवाले कान्तिपुरसँग भनेका छन्, ‘चीनबारे नेपालको धारणामा कुनै बदलाव नआएको’ स्पष्ट पारेका हुन् । उनले तिब्बती शरणार्थीको कार्यालय समेत आफैले बन्द गराएको स्मरण गरे ।
प्रधानमन्त्री देउवाले कान्तिपुरसँग भने, ‘चीनको सम्बन्धमा कुरा गर्ने हो भने एक चीन नीति हाम्रो पहिलेदेखि नै हो । अहिले पनि छ । कुरै गर्ने हो भने कोही कसैले हिम्मत नगरेको काम मैले गरेको हो । दलाई लामाको अफिस नै मैले बन्द गरेको हो । सबै प्रधानमन्त्री भएका हैनन् ? कसैले बन्द गरे ? त्यसैले चीनको सम्बन्धमा नेपाल प्रस्ट छ । नेपालको भूमि चीनको खिलाफमा कुनै हालतमा प्रयोग हुँदैन ।’ २०६१ सालमा प्रधानमन्त्री भएका बेला देउवाले नेपालस्थित तिब्बती शरणार्थीको कार्यालय बन्द गराएका थिए ।
