काठमाडौं, १२ जेठ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले कृषिमा नयाँ क्रान्ति ल्याउन गाँजालाई वैधानिक बनाउनमा जोड दिएका छन् ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै सांसद तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई संसदमा छिटो छलफलमा लिएर पारित गरी वैधानिक बनाउनमा जोड दिएका हुन् ।
‘कृषिमा आकर्षण दिन संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लैजानुपर्छ । यसलाई पारित गरेर वैधानिक बनाऔँ,’ तामाङले भने, ‘कानुन बनेमा हरियो पासपोर्ट च्यापेर विदेशको श्रम बजार जाने नेपाली युवालाई हरियो गाँजाको बोट समातेर गाउँमा पठाउनेछौँ र कृषिमा नयाँ क्रान्ति हुनेछ । यसले अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । त्यस कारणे यो विधेयक संसदमा छिटो भन्दा छिटो छलफलमा लिएर पारित गराउने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’