काठमाडौं, १२ जेठ । विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पार्टीका नेता तथा सदस्यहरूलाई राजीनामा नदिन आग्रह गरेका छन् ।
मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् । ‘पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो । कृपया, त्यसो नगरिदिनु होला,’ उनले भनेका छन्, ‘कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ । पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु ।’
उनले आफूबाट बेइमानी नहुनेसमेत वाचा गरेका छन् । उभनले भनेका छन्, ‘यो समाज र देशलाई ठग्ने काम हुँदैन । “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु ।’
आफूले राजीनामा दिएपछि धेरै फोन आइरहेको पनि उनले बताएका छन् । कतिपयले आफूलाई अब के गर्नुहुन्छ भन्ने प्रश्न गरेकोसमेत मिश्रले बताए ।
‘कतिपय साथीहरूले अब तपाईं के गर्नुहुन्छ ? भनेर सोधि रहनु भएको छ । मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ । मलाई थप केही आवश्यक छैन,’ उनले भनेका छन्, ‘मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन । त्यसका लागि विचारभन्दा माथि देशलाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु । बाँकि, उपरवाले की इच्छा !’
उनले कविता लेख्नेदेखि सिनेमामा अभिनय गर्न सक्नेसमेत बताएका पनि छन् । उनले भनेका छन्, ‘कविता लेखुँला, परोपकारी काम गरूँला र मन लाग्यो भने सिनेमामा अभिनय पनि गरूँला !’
स्थानीय चुनावमा पार्टीका उम्मेदवारहरूको अपेक्षाअनुसार परिणाम नआएपछि मिश्रले बुधबार पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए।