तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमाले विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ११ जेष्ठ

दाङ, ११ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराउँदै मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् ।

बुधबार सार्वजनिक भएको मतपरिणाम अनुसार खड्काले ३१,४०८ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरिले २७,७१६ मत पाए ।

यस्तै, उपमेयरमा चौधरीले ३०,५९७ मत ल्याएर विजयी भइन् । पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१,०६५ मत पाए ।

एमालेले यसअघि छिमेकी घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनलाई हराएर जित हात पारेको थियो । योसँगै एमालेले दाङका दुई र बाराको कलैया उपमहानगरमा मेयर र उपमेयर जितेको छ ।

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, नेपालगन्जमा कांग्रेसका प्रशान्त बिष्ट, बुटवलमा कांग्रेसका खेलराज पाण्डेय, हेटौंडामा नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामा, जितपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल, जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह, इटहरीमा कांग्रेसका हेमकर्ण पौडेल र धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

प्रतिक्रिया