निर्वाचन आयोगले भन्यो- अपरान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

काठमाडौं, ३० बैशाख । शुक्रबार बिहानैदेखि देशभर स्थानीय तह निर्वाचन अन्र्तगत मतदान जारी छ । अहिलेसम्म अधिकांश स्थानमा उत्साहपूर्ण मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मध्यान्हसम्म ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरूमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ’ उनले भने ।

स्थानीय तह सदस्य निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको उनको भनाइ छ ।
अपरान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको उनको भनाइ छ । आज पाँच बजेसम्म मतदान प्रक्रिया चल्नेछ ।

प्रतिक्रिया