फिलिपिन्सको चुनाव : पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, २७ बैशाख

मनिला, २७ बैशाख (एएफपी) । फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
कठोर शासकका रुपमा चिनिनु भएका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाएका थिए । दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उनीहरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी भएका छन् ।

राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाउनु भएको र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत एक एक जना राष्ट्र्पति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् ।
मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाएका थिए । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।
पूर्वसिनेटर समेत रहनु भएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नु हुनेछ । अहिलेका राष्ट्रपतिको ६ बर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन् ।

फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया