
दाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले चितवनमा बोलेको कुरालाई गलत ढंगले प्रचार भएको बताएका छन् । उनले कतिपय मिडियाले ‘प्रचण्डले जनतालाई धम्क्याएको’ जस्ता टिप्पणी गरेको समेत बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘कतिपय मिडियाहरूले मलाई जनतालाई धम्क्यायो समेत भने । गठबन्धनलाई जिताएन भने देश दुर्घटना हुन्छ भन्यो भन्ने चर्चा परिचर्चा पनि तपाईँहरुले सुन्नुभयो नि ।’
‘हामीले भनेको कुरा यति हो कि यो गठबन्धन निकै ठूलो प्रतिगामी षडयन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो । यो निर्वाचनबाट पनि यो षडयन्त्रलाई परास्त गर्न जरुरी छ । त्यो परास्त गर्नका लागि मैले जनतालाई अपिल गरेँ ।’
आइतबार दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा मात्रै प्रतिक्रान्ति र प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सकिन्छ भन्ने भरतपुरको आफ्नो आशय रहेको स्पष्ट पारे । तर, त्यो भनाइलाई छोरी जिताउनका लागि देशै दुर्घटनामा जान्छ भन्यो भनेर नकारात्मक ढंगले प्रचार गरिएको प्रचण्डले गुनासो पोखे ।
उनले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नका लागि गठबन्धन बनेकाले मतदातासँग अपिल गरे । तुल्सीपुर उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार गेहेन्द्र गिरिलाई जिताइनु पर्ने भन्दै प्रचण्डले उनी काँग्रेसको अनुभवी नेता भएको बताए ।
सत्ता गठबन्धन प्रगतिशील रहेको जिकिर गर्दै प्रचण्डले भने, ‘गठबन्धनको पाँचै पाटीको अनुहार हेर्नुभयो भने सबैको इतिहास, विरासत र चरित्र प्रगतिशील छन् । यी दलले समानुपातिक, समानुपातिक समावेशिताको रक्षा गर्नेछन् । यो अग्रगामी र प्रगतिशील छ ।’
