
काठमाडौं, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गते गठबन्धनको ढाँड भाँच्ने खड्गो रहेको बताएका छन् ।ज्योतिषी र ग्रह दशा हेर्ने ज्योतिषीहरूको प्रशंग निकाल्दै ओलीले असार १७ पछि सत्तागठबन्धन नरहनेसमेत दावी गरे ।
आइतबार एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीति हेर्ने ज्योतिषी र ग्रह दशा हेर्ने ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने बताएको दावी गरेका हुन् ।
‘ग्रहदशा र राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिले दुवै ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन्’ ओलीले भने, ‘यो ज्योतिषीहरूका कुरा हो । होइन भने प्रधानमन्त्रीज्यूले ठ्याक्कै ठ्याक्कै मिलाउने उहाँको ज्योतिषीलाई बोलाएर सोधे हुन्छ ।’
ओलीले गठबन्धन रहन्छ र रहन्न भन्ने आफ्नो कुरा नभएको बताउँदै भने, ‘तर, ज्योतिषीहरूका अनुसार गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो त यही वैशाख ३० हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ ।’
