
भरतपुर, २२ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुरमा रेनु दाहालले गरेको कामको प्रशंसा गरेका छन् ।
बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी आम सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘बधाई छ रेनु दाहाललाई । योग्यताका जाँचमा रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ । सोही आधारमा गठबन्धनले उहाँलाई मेयरमा चयन गरेर सही निर्णय गरेको छ ।’ अध्यक्ष नेपालले रेनुलाई जिताउन भरतपुर नगरबासीहरुसँग आग्रह गर्दै भने, ‘उहाँलाई जिताउन नगरवासी जुट्न आवश्यक छ ।’ उनले काँग्रेसभित्रको असन्तुष्ट पक्षलाई उम्मेदवारी फिर्ता लिन सुझाव दिए ।
सोहीक्रममा अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बयल गाडाका प्रवर्तक र भ्रमको खेती गर्ने पात्रमात्र भएके समेत टिप्पणी गरे । गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि बताए ।
एमाले अध्यक्ष ओलीको बखान गर्न जरुरी नभएको बताउँदै हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने उनले टिप्पणी गरे ।
‘हजार जिब्रो भएका शेषनागले त सक्दैनन् मैले कसरी सक्छु ? बयल गाडाका प्रवर्तक केपी ओली हो । उनले गफमा विद्यावारिधि गरेका छन् । झुट र भ्रमको खेती गर्छन् होस् गर्नुहोला’, अध्यक्ष नेपालको भनाइ छ ।
