जिम्बावे ‘ए’ सँग नेपाल ६ विकेटले पराजित
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

काठमाडौं, १८ वैशाख । खराब बलिङ गरेका नेपाल पहिलो टी–२० अभियास खेलमा जिम्बावे ‘ए’ सँग ६ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।

जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे । मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे । ओपर इनोसेन्ट काइयाले ४७ रन जोडे ।

बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।

त्यसअघि जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे । उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे ।

यस्तै, ओपनर कुशल भुर्तेलले ४६ रन जोडे । आसिफ शेख ९ रनमा आउट भए । रोहित कुमार पौडेलले ३६ रन तथा दीपेन्द्रसिंह ऐरीले २८ रनको योगदान दिए । आरिफ शेख भने २ रनमै आउट भए । करण केसी ४ रनमा नटआउट रहे ।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १–१ विकेट लिए । दोस्रो टी–२० भोलि मा र तेस्रो टी–२० वैशाख २१ मा हुनेछ । एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन् ।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो ।

प्रतिक्रिया