कांग्रेसले एमालेको राजनीतिक दस्तावेज चोरेको र कुहिएको लौरोको भरमा रहेको ओलीको आरोप
अखबार टुडे
प्रकाशित:
२०७९, १३ बैशाख

काठमाडौं, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन् ।

मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजन गरेको कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका हुन् ।

‘दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो’, उनले भने, ‘छिन्नभिन्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।’

अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठूलो विजयको तयारीमा आफूहरु रहेको बताए । उनले भने, ‘कम्युनिष्ट आन्दोलनको वैचारिक र व्याहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति नेकपा एमाले रहेको छ ।’

अध्यक्ष ओलीले मनमोहनमा हतारोसँग काम नगरी सुविस्तारसँग काम गर्ने बानी रहेको बताए । ‘उनको राजनीतिक यात्रा रिले रेस जस्तो थिएन । उहाँ राजनीतिकको म्याराथुन धावक हो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘म्याराथुन धावक भएको हुनाले उहाँ ७१ वर्ष उमेरमा सांसद र प्रधानमन्त्री हुनुभयो ।’

उनले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पोको भएको बताए । उनले कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले २०६२÷०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताए । उनले कांग्रेसको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरूले आफू बित्दा कांग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले कांग्रेससँग ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेन्डा नभएको आरोप लगाए । उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्नेबारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए । अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको र त्यो लौरो पालिका चुनावबाट सकिने दाबी समेत गरे ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गरे । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे । उनले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरू भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले घोषणापत्र ननिकालेको आरोप लगाए ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाए । उनले हतारमा एकीकृत समाजवादीले निकालेको घोषणापत्रमा केही तुक नरहेको दाबी गरे ।

प्रतिक्रिया