एकीकृत समाजवादीलाई पोखराको मेयर दिएको विरोधमा कांग्रेस कार्यालयमा ताला
अखबार टुडे
प्रकाशित:
२०७९, ७ बैशाख

कास्की, ७ वैशाख । नेपाली कांग्रेसको पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।
एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मेयर पद दिने निर्णयको विरोध गर्दै पोखरा महानगर समितिले तालाबन्दी गरेको हो ।

कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने महानगरका सचिव गणेशबहादुर थापाले बताए । केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए ।

सोमबार नेपाली कांग्रेस कास्की जिल्ला र नगर समितिका सचिवले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेको, हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएका थिए ।

लगत्तै सोमबार नै सभापति शेरबहादुर देउवाले तुरून्त काठमाडौं आउनू भनेपछि कास्कीका कांग्रेस नेता हरू मंगलबार देउवालाई भेट्न गएका थिए । देउवाले गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए ।

पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो । नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया